काठमाण्डौ पुस ७ ।
मधेसी मोर्चासहितको संघीय गठबन्धनले एमाले लगायतका विपक्षी दलले सबिधान संशोधनको बिरोध गरेर जनताको एकता र सहिष्णुतामा आंच ल्याउने कार्य गरेको ठहर गर्दै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको छ ।
तीनकुने स्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यलयमा बसेको गठबन्धनको बैठकले मधेसका नाममा नेकपा एमालेले राष्ट्रिय एकता खल्बल्याउन खोजेको निश्कर्ष निकालेको हो । एमालेका नेताहरुले मधेसकाबारेमा दिएका अभिव्यक्ति आपत्तिजनक भएको ठहर गर्दै अभिव्यक्ति सच्याउन आग्रह पनि गरेको छ ।
बैठकले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावसमेत अपुरो रहेको भन्दै परिमार्जन गर्न पनि माग गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । यस्तै संविधान संशोधनको प्रस्ताव नसच्याएसम्म स्वीकार्य नहुने स्पस्ट पार्दै पुन परिमार्जन गरेर सदनमा लैजान आग्रह गरेको हो ।
बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ , संशोधन विरोधको नाममा एमालेले दिएको अभिव्यक्ति मुलुकमा जातीय सामाजिक सहिष्णुता भड्काउने र मुलुकलाई विभाजन गर्नेतर्फ उन्मूख रहेकाले राष्ट्रिय एकतालाई कमजोर पारी मुलुकलाई अनिश्तित गृहयुद्धतिर धकेल्ने एमालेको यस प्रतिगमनकारी गतिविधिको हामी घोर भर्त्सना गर्दछौं ।’ गठबन्धनका वक्तव्यमा एमालेले संघीयता, गणतन्त्र, धर्म्निरपेक्षता, समावेशी लोकतन्त्रजस्ता उपलब्धि धरापमा पारेको समेत आरोप लगाइएको छ ।
गठबन्धनले नया शक्ति पार्टीलाई मोर्चाबन्दी गर्ने भए पहिले संविधान जारी गरेकामा गल्ती महसुस गर्नुपर्ने शर्त राखेको छ । पछिल्लो साता नया शक्ति संयोजक बाबुराम भट्टराईसग उपेन्द्र यादव र महन्थ ठाकुरलगायत नेताहरुले गरेका कुराकानीबारे पनि बैठकमा ब्रिफिङ भएको थियो ।
यस्तै संघीयतालगायतका विषयमा छलफल गर्न गठबन्धनले एक साताभित्र काठमाडौंमा अन्तक्र्रिया राख्ने संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो ।