काठमाण्डौ ,७ मंसिर ।
ब्यावस्थापिका संसद अन्तरगतको राज्य व्यवस्था समितिले निर्वाचनसम्बन्धी विधेयकमा दफावार छलफलका लागि ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
सिंहरदबारमा आज बिहान बसेको समिति बैठकले आजैबाट काम सुरु गर्ने गरी समिति गठन गरेको हो । गठित समितिलाई निर्वाचन सम्बन्धि बिभिन्न तीनवटा विधेयकमा दफावार छलफल गरी १५ दिनभित्र समितिमा निष्कर्ष पेश गर्न समेत निर्देशन दिएको समिति सभापति दिलबहादुर घर्तीले बताउनु भयो ।
उपसमितिले आजबाट नै संसदले यसअघि नै समितिमा पठाएको मतदाता नामवली , राजनीतिक दलसम्बन्धी कानुन र निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल सुरु गर्ने छ ।
घर्तीले निर्वाचनसम्बन्धी महत्वपूर्ण विधेयकहरु भएकोले यसमा दफावार छलफल गरेर छिटोभन्दा छिटो समितिमा निष्कर्ष पेस गर्न उपसमितिलाई आग्रह गर्नुभयो ।
गठित उपसमितिमा कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादव, ईश्वरी न्यौपाने, एमालेबाट गंगालाल तुलाधर, मानप्रसाद खत्री, रामेश्वर फुयाल र माओवादी केन्द्रबाट रेखा शर्मा र सन्तु दराई रहेका छन् ।
त्यस्तै, राप्रपाबाट विक्रमबहादुर थापा, साना दलका तर्फबाट नेमकिपाका प्रेम सुवाल र मधेसवादी दलबाट धमेन्द्र साह तेली उपसमिति सदस्य छन् ।
बैठकमा बोल्दै एमाले सांसद एवं सदस्य गंगालाल तुलाधरले समितिले समयमै काम गर्न नसक्दा आलोचना व्यहोर्नु परेकाले संसदबाट पठाएको विधेयकमा छिटो काम गर्नुपर्नेमा जोड दिनुभयो ।