काठमाण्डौ, पुस ६ ।
पूर्व राजा ज्ञानेन्द्र साहले राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ । बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको शाहले बताउनुभयो । संविधान संशोधनलाई दिएर दलहरुबीच ध्रुविकरण बढिरहेका बेला पूर्व राजा ज्ञानेन्द्रले बुधबार साँझ विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको बताउनुभयो ।
‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ, उहाँले भन्नुभएको छ, आज नेपाली बीचको समाजिक सद्भाव मेटिँदैछ भने तराई, पहाड र हिमाल माझको ऐक्यभावलाई तोड्न भगीरत प्रयत्न भइरहेको छ ।’उहाँको भनाई छ ।
क्रान्तिकारी, परिर्वतनकारी, वलिदानी जस्ता शब्दको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर बनाउने काम भएको पनि पुर्वराजा शाहले बताउनुभयो । निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु बलियो नहुने र इतिहासलाई कलंकित गर्दै निहित स्वार्थ पुरा गर्न गरिएको काम प्रशंशित नहुने भन्दै उहाँले बताउनुभयो ।
नेपालीको मनमा देशभक्तिको भावना नढलेको भन्दै शाहले राष्ट्र जगाउन प्रखर रुपले जाग्ने बेला आएको बताएको बताउनुभयो । नेपालको स्थायी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासी भएको उल्लेख गर्दै विज्ञप्तिमा यसलाई सवल पार्ने भाषा, धर्म, संस्कृति, इतिहास र त्यसले बोकेको आस्था र विश्वासलाई त्यसको बलियो जग भएको उल्लेख छ।