काठमाण्डौ ,५ पुस ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीले राजनीतिक र नीतिगत रुपमा लगानीका लागि कुनै समस्या नभएको दाबी गर्नुभएको छ ।
उद्योग मन्त्रालयमा आज विभिन्न मुलुकका राजदुत एंवम् कुटनीतिक नियोगका प्रमुखसँगको बैठकमा बोल्दै मन्त्री जोशीले
नेपालमा लगानी बढाउन कुटनीतिक नियोगलाई आग्रह पनि गर्नुभयो ।
उहाले आगामी फागुनको १९ र २० गते हुन लागेको नेपाल लागानी सम्मेलनमा सहभागी भइ नेपालबारे अध्ययन गरेर लगानी बढाउनका आग्रह गर्नुभयो ।
मन्त्री जोशीले उद्योग मन्त्रालय कानुनी रुपमा लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन लागिपरेको भन्दै अन्तर मन्त्रालयबीचको समन्वयका लागि अहिले नियमित रुपमा श्रम, भौतिक योजना तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, वन, वातारण र कृषि विकासमन्त्रालयबीच सहकार्य गर्दै आएको स्पष्ट पार्नुभयो ।
छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क), जापान, संयुक्त राज्य अमेरिका, स्वीडेन, साउथ अफ्रिका, म्यानमार, न्युजिल्यान्ड, थाइल्यान्ड, फिनल्यान्ड, चेक रिपब्लिक लगायत देशका राजदुत र कुटनीतिक प्रमुख सहभागी थिए । उनीहरुले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको भन्दै नीतिगत र राजनीतिक स्थिरतामा जोड दिएका थिए । नेपालमा श्रम ऐन ल्याउन जरुरी भइसकेको सुझाव दिएका छन् ।