काठमाण्डौ , ५ पुस ।
सरकारले युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानविन गर्न चार सदस्यीय समिति गठन गरेको छ ।
नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित समितिलाई १५ दिन भित्र तिवारी हत्याकाण्ड बारे छानविन गरी प्रतिवेदन पेश गर्न कार्यादेश दिईएको छ ।
एआईजी शर्मा सहित समितिमा राष्ट्रिय अनुसन्धान बिभागका डिआईजी यादव प्रसाद रेग्मी, नेपाल प्रहरीका एसएसपी मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराम जोशी छन् ।
यसैबीच युवा संघका नेताले आजै गृहमन्त्री विमलेन्द्र निधिलाई भेटि तिवारीको हत्याकाण्ड बारे छानविन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री निधिले हत्याबारे अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उता रुपन्देही प्रहरीले तिबारीको हत्यामा प्रयोग भएको मोटरसाईकल बरामद गरेको छ । घटनास्थलबाट ३ किलोमिटर दक्षिण सेमरानाबाट बा ५१ प ८०७३ नम्बरको रातो पल्सर मोटरसाइकल बरामद गरेको अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।