काठमाडौ ५ पौष ।
युवा संघ नेपालले तिवारी हत्याको छानबिनका लागि समिति गठन गर्न सरकारसँग माग गरेको छ । आज बिहान पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी सत्य तथ्य जानकारी बाहिर ल्याई दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।
उहाँले तिवारीको हत्या राष्ट्रिय अखण्डतालाई कमजोर बनाउन तथा प्रदेश नम्बर ५ मा भइरहेको आन्दोलनलाई निस्तेज पार्न गरिएको भन्दै सरकारले यथासिघ्र छानबिन समिति गठन गरी अनुसन्धान कार्य अघि बढाउनु पर्ने बताउनु भयो ।
सरकारले आज छानबिन समिति गठन नगरे भोलीबाट नेपाल बन्दजस्ता कार्यक्रम गर्ने चेतावनी समेत युवा संघले दिएको छ । पत्रकार सम्मेलनमा हत्याको विरोधमा आज दिउँसो देशभरि चक्का जाम गर्ने घोषणा समेत गरिएको थियो ।
यसैगरी संघले पनि हत्याबारे छानबिन गर्न छुट्टै समिति गठन गरेको छ । संघका महासचिव किरण पौडेलको संंयोजकत्वमा सचिवद्वय नरेश शाही र अशोक चन्द सदस्य भएको समितिले आजैबाट काम सुरु गर्ने जनाएको छ ।