काठमाडौ ,४ पौष ।
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको आज अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
रुपन्देहीको देवदह नगरपालिकास्थित खैरनी बजारमा भएको गोली प्रहारबाट गम्भिर घाइते भएका तिवारीको नजिकैको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
पछाडिबाट हानिएको गोली तिवारीको अगाडि छातिबाट निस्किएको थियो । रातो पल्सर मोटरसाइकलमा आएका दुई जनाले तिवारीमाथि गोली हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
गोली हान्नेहरुको खोजी भईरहेको र पहिचान हुन नसकेको रुपन्देही प्रहरीका डीएसपी बेलबहादुर पाण्डेले बताउनु भयो । घटनापछि अज्ञात नम्बरबाट अन्य ब्यक्तिहरुलाई समेत धम्की आएको भन्दै स्थानीय वासिन्दा त्रसित बनेका छन् ।
तिवारी पाँच नम्बर प्रदेश विभाजन विरुद्धको आन्दोलनमा सक्रिय रहँदै आएका थिए । प्रहरीका अनुसार गोली चलाएको आरोपमा मनोज राना पुनलाई पक्राउ गरेको छ ।
यसैबीच युवा संघ युवासंघ नेपालको आपतकालीन बैठक बोलाइएको छ ।
रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलाई देवदह मेडिकल कलेजमा लगिएको थियो ।
रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शील गरिएको छ ।
घटनाबारे बुझ्न पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी कमलसिंह बम पनि पोखराबाट बुटवल आउँदैछन् ।