काठमान्डौ पुस ४ ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आजको संसद बैठक पनि कार्यसुचीमा प्रवेश नगरी स्थगित भएको छ ।
बैठक सुरु भएलगत्तै नेकपा एमाले लगायतका प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले आगामी पौष ७ गते दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
आजको बैठकमा सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक टेबुल गर्ने कार्यसुचि रहेको थियो । बैठकको सुरुमै नेपा पार्टीका सांसद लक्ष्मण राजवंशीले संसदमा दर्ता भएको संशोधनको प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिनुपर्ने बताउनु भयो ।
मंसिर १४ गते सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराएपछि एमाले लगायतका विपक्षी दलले त्यसको विरोधमा मंसिर १६ गतेदेखि संसद बैठक लगातार अवरुद्ध गर्दै आएका छन् ।
सदन अवरोधका कारण निर्वाचन सम्बन्धि विधेयक दर्ता भएर पनि अघि बढ्न सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिह कार्की विरुद्धको महाअभियोग प्रस्ताव माथिको छलफल समेत प्रभावित भएको छ ।