छाउगोठमै किशोरीको मृत्यु

छाउगोठमै किशोरीको मृत्यु

  • सोमवार, पुस ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

अछाम , पुस ४ ।
छाउपडीमुक्त घोषणा गरेको एक महिना भित्रै अछाममा २ जना किशोरीको छाउगोठ भित्रै मृत्यु भईसकेको छ ।

निकै तामझामका साथ अघिल्लो वर्ष नै छाउपडीमुक्त घोषणा भइसकेको गाविसमै एक किशोरीले छाउगोठभित्र ज्यान गुमाएकी छन् । गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवा शनिबार साँझ ६ बजे खाना खाएर घरछेवैको छाउपडी गोठमा सुत्न गएकी थिइन् ।

आइतबार बिहान साढे ७ बजेसम्म पनि नउठेपछि बुबा भरत हेर्न जाँदा महिनावारी बारिरहेकी छोरी गोठमै मृत भेटिइन् । उनले हतारिँदै प्रहरीलाई खबर गरे । मृत्युको कारण यकिन हुन सकेको छैन ।

जिल्लामा एक महिनामा दुई किशोरीको छाउगोठमै ज्यान गइसकेको छ । जिल्ला प्रहरी कार्यालयका निरीक्षक बद्रीप्रसाद ढकालले जाडोमा आगो बाल्दा धूवाँमा निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताए । ‘होचो गोठमा हावा ओहोरदोहोर गर्ने कुनै झ्याल छैनन्, मूल ढोकासमेत लगाइएकाले निसास्सिएर वा चिसोमा कठ्यांग्रिएर ज्यान गएको हुन सक्छ,’ उनले भने ।

गोठमा भित्रबाट ढोका लगाइएको थियो । बाहिरबाट बोलाउँदा ढोका नखोलेपछि फोरेरै भित्र हेर्दा छोरी मृत अवस्थामा भेटिएकी भरतले बताए । मृतकको शरीरमा कुनै घाउ चोटपटक नरहेको प्रहरीले जनाएको छ । किशोरी गाज्रा गाविसस्थित राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

यसअघि मंसिर ४ मा महिनावारी भएकै बेला छाउगोठमा बस्दा तिमिल्सेन–७ की २१ वर्षीया डम्बरा उपाध्याय पनि बिहान मृत फेला परेकी थिइन् । छाउपडी गोठमा महिनावारी भएर चार रात बिताएपछि पाँचांै दिन मात्र घर फर्काउने कुप्रथा यहाँ अझै हटेको छैन । विभिन्न गैरसरकारी संस्थाले २०६३ यता छाउपडीकै कारण जिल्लामा १० महिला र किशोरीको ज्यान गइसकेको जनाएका छन् । यहाँका ३१ गाविस छाउपडी गोठमुक्त घोषणा गरिएका छन् । – कान्तिपुर दैनिकबाट 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ