काठमान्डौ पुस ४ ।
सभामुख घर्तीले व्यवस्थापिका संसदको आजको बैठकको कार्यसूचिमा सहमति जुटाउन बिहान ११ बजे शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गर्नु भएको हो ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सम्मीलीत आजको बैठकमा संसदमा उत्पन्न गतिरोध अन्त्य गर्दै सदन खुलाउन पहल गरिने बताइएको छ ।
एमालेको अवरोधका कारण संशोधन प्रस्ताव संसदको कार्यसूचीमा पर्न नसकेको भन्दै सभामुखले सहमतिको प्रयास स्वरुप प्रमुख तीन दलको बैठक बोलाउनु भएको उहाँको पेस सल्लाहाकार बविन शर्माले जानकारी दिनु भयो ।
सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ ।
संसदलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन हुँदैन भन्दै आजकोे बैठकमा संसदको गतिरोध अन्त्यको पहल हुने बताइएको छ । सभामुख घर्तीले यसअघि पनि सहमतिको पहल गर्दै आएकी थिइन् तर दलहरुको आ–आफ्नै अडानका कारण उहाँको प्रयास सफल हुन सकेको छैन ।