काठमान्डौ पुस ३ ।
संसदको गतिरोध अन्त्यको प्रयास स्वरुप सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक आह्वान गर्नु भएको छ । सभामुख घर्तीले भोली बिहान ११ बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गर्नु भएको हो ।
सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ ।
एमालेको अवरोधका कारण संशोधन प्रस्ताव संसदको कार्यसूचीमा पर्न नसकेको भन्दै सभामुखले सहमतिको प्रयास स्वरुप प्रमुख तीन दलको बैठक बोलाउनु भएको उहाँको पेस सल्लाहाकार बविन शर्माले जानकारी दिनु भयो ।
संसदलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन हुँदैन भन्दै भोलीको बैठकमा संसदको गतिरोध अन्त्यको पहल हुने बताइएको छ । सभामुख घर्तीले यसअघि पनि सहमतिको पहल गर्दै आएकी थिइन् तर दलहरुको आ–आफ्नै अडानका कारण उहाँको प्रयास सफल हुन सकेको छैन ।
भोलीको संसद बैठकमा संशोधन प्रस्तावलाई कार्यसूचीमा राख्ने सरकारको तयारी छ ।