काठमाडौं, पुस १ ।
चौथो साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आज मलेसियाको टीमसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ । खेल सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुने छ ।
नेपालको प्रस्तावमा मलेसीयाको फुटबल टिम प्रतियोगीताकामा सहभागीता जनाउन काठमाण्डौ आएको हो ।
आगामि डिसेम्बर २६ तारिखदेखि भारतको सिलगढीमा हुन चौथो साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले तयारी स्वरुप मलेसीयाको राष्ट्रिय टिमसँग खेल खेल्न लागेको हो ।
यसअघि ‘प्रिम्याच कन्फ्रेन्स’मा बोल्दै दुबै टिमका प्रशिक्षकले आफ्नो टिम विजयी हुने जिकिर गरेका छन् ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाले आजको खेलमा अवसर र चुनौती दुबै रहेको बताए ।
नेपाली टिमबाट केही खेलाडीले ‘डेब्यु’ गर्दैछन् । पहिलोपटक राष्ट्रिय टिमको नेतृत्व सम्हाल्ने अवसर पाएकी कप्तान रेणुका नगरकोटीले विगतका तुलनामा योपटक प्रशिक्षण लामो समयदेखि भइरहेकाले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरिन् ।
मलेसियाका मुख्य प्रशिक्षक मोहम्मद अब्दुल्लाहले टिममा नयाँ खेलाडीहरु भएकाले अनुभवका लागि यो खेल राम्रो अवसर रहेको बताए ।
नेपाल साफ च्याम्पियनसीपमा लगातार तेस्रो संस्करणमा उपविजेता बन्न सफल भएको भन्दै अब्दुल्लाहले केही महिनापछि हुने क्षेत्रीय प्रतियोगिताका लागि यो खेलले फाइदा र्पुयाउने विश्वास व्यक्त गरे ।
खेल हेर्न भीआइपी पारापिटतर्फ पाँच सय तथा सामान्यतर्फ तीन सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।