चितवन, पुस १ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वि.सं. २०७४ माघभित्र तीनै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक संकट आउने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले मुलुकमा कुनैपनि संकट आउन नदिन दलीय सहमति जुटाएर निर्वाचन प्रक्रियामा जानुपर्ने बताउनु भयो ।
सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको भन्दै उहाले स्थानीय निकायको निर्वाचन पछि क्रमशः प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने बताउनु भयो ।
प्रतिपक्ष दलको अबरोधका कारण संविधान संशोधन प्रस्ताव पारित नहुने देखिएपछि अहिले सरकार चुनावको तयारीमा लागेको बताउनु भयो ।
संसदको अवरोध हटाएर संविधान संशोधन प्रस्ताव पारित गराइ निर्वाचनतिर जाने सत्तारुढ दलहरुको योजना रहेकामा विपक्षीका अवरोधका कारण बीचको बाटो खोजिएको उहाको भनाई छ ।
संविधान संशोधन प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै पेस गरिएको देउवाले बताउनु भयो ।
सत्तारुढ दलहरुले कुनैपनि कुरा जबरजस्ती नभएर सहमतिमा जान खोजेको भन्दै उहाले सबै सकारात्मक भएमात्र संविधान कार्यान्वयन हुने र मुलुकले निकास पाउने बताउनु भयो ।