काठमाडौ १ पौष ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कसैले चहादैमा संघीयता खारेज नहुने बताउनु भएको छ । साथै उहाँले संविधान संशोधन प्रस्ताव फिर्ता वा थाती राख्ने प्रस्ताव अस्वीकार्य भएको बताउनु भयो ।
प्रेस सेन्टर नेपालले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले संघीयताको सम्बन्ध गणतन्त्र, समावेशिता जस्ता परिवर्तनका मुद्दाहरुसँग अन्तर सम्बन्धित रहेकाले कसैले चाहदैमा फिर्ता नहुने बताउनु भयो ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका दाहालले संविधान संशोधन विधेयकमा कुनै पनि दलले बिमति राख्नुपर्ने कारण नभएको समेत स्पष्ट पार्नुभयो ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विगतमा प्रतिपक्षी दल एमालेले नै अघि सारेको प्रस्ताव भएको भन्दै उहाँले अहिले आएर त्यहीँ प्रस्तावको विरोध गर्नुको कुनै अर्थ नरहेको धारणा राख्नुभयो ।
सरकार बैशाखसम्म स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको भन्दै उहाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह समेत गर्नुभयो ।