काठमाडौं, पुस १ ।
सरकारले आज देखि गाडीबाट सार्वजनिक ठाउँ र सडकमा फोहर फ्याँक्नेलाई कारवाही गर्ने भएको छ । गाडीबाट जथाभावि फोहोर फाल्दा सहरसँगै सडकको सौन्दर्यमा कमी आएको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो नयाँ नियम लागु गरेको हो ।
गाडीबाट कसैले सडकमा फोहोर फ्याँके वा थुके पाँच सय देखि पाँच हजार रुपैयाँसम्म जरिवाना र तीन महिनासम्म कैद गरिने बताइएको छ । एक महिनासम्म अभ्यासका लागि छुट दिइने तर त्यसपछि पनि अटेर गरी फोहोर फालेमा कारवाही गरिने फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिनुभयो ।
गाडीमा यात्रा गर्दा सार्वजनिक ठाउँ तथा सडकमा फोहरजन्य पदार्थ जथाभावी फाल्दा वातावरणमा समेत प्रभाव पर्ने भएकाले अव सार्वजनिक गाडीले गाडी भित्रै डस्टविन राख्नु पर्ने कार्यकारी निर्देशक ज्ञवालीले बताउनु भयो ।
गाडीमा संकलन भएको फोहोरलाई गाडीवालाले आफ्नो अन्तिम गन्तव्य वा बिसर्जन विन्दुमा फाल्ने व्यवस्था गर्नेगरी सम्बन्धित नगरपालिकाले व्यवस्थापनको जिम्मा लिने बताइएको छ ।
सार्वजनिक बस, मिनिबस, माइक्रोबस, टेम्पो लगायतका यात्रुका लागि फोहोर फाल्न डस्टबीन वा सरकारले तोकेको गुणस्तर पोलिथिन थैलोको अनिवार्य व्यवस्था गर्न लागिएको हो ।