रुपन्देहि , ३० मंसिर ।
भारत हरियाणाका पहलवान अमितकुमार यादव रुपन्देहीमा सम्पन्न अन्तराष्ट्रि विराट कुस्ती प्रतियोगिताको विजेता घोषित भएका छन् ।
भारत महाराजगंज मजरीका अर्का पहलमान जितेन्द्र चौहानले फाईनलमा प्रतिष्पर्धा गर्न अस्विकार गरेपछि अमित कुमार स्वतः विजेता घोषित भएका हुन् ।
हिजाभएको सेमीफाइनल खेलमा हारजितको विषयलाई लिएर उत्पन्न विवादका कारण प्रतियोगिताको फाइनल खेल आजलाई सारिएको थियो । हिजोको सेमिफाइनलमा अमितकुमार यादव र रोहितबीच भएको प्रतिस्पर्धामा रोहितले यादवलाई पछारेपछि उनका गुरु केशवदास बाबाले आफ्नो शिष्य विजयी भएको दाबी गरेका थिए ।
तर, आयोजक र रेफ्रीले पछारेर मात्र नहुने र पछारी सकेपछि कम्तीमा २० सेकण्ड थिचेर भूइँमा राखेमा मात्र विजयी हुने बताएपछि दुई पक्षबीच तीब्र विवादले खेल स्थगित भएको थियो ।
आयोजक र रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै रोहितका गुरु केशवदास बाबाले शिष्य रोहितलाई लिएर कुस्ती स्थलबाट हिँडेपछि आयोजकले सेमिफाइलन खेलको विजेता अमित कुमार यादवलाई घोषणा गरेका थिए ।
यस अघिको खेलबाट फाइलनमा पुगेका केशवदास बाबाको अर्का शिष्य जितेन्द्र पनि फाइनल खेलका लागि मैदानमा जान मानेका थिएनन् । जितेन्द्रले पनि खेल छाडेमा अमितलाई स्वतः फाइनल खेलको विजेता घोषणा गर्ने आयोजकले जनाएपछि जितेन्द्रले प्रतिष्पर्धामा भिड्न तयार रहेको बताएका थिए ।
तर, आज पुन खेल्न अस्विकार गरे । जितेन्द्रले आफ्ना गुरुको सल्लाहमा उनको सम्मानका लागि खेल नखेलेको बताएका छन् ।