काठमाडौँ, मङ्सिर ३० ।
सरकारले सार्वजनिक सवारिसाधनबाट सडक तथा सार्वजनिक स्थलमा फोहर फ्याक्ने र थुक्ने माथि कडाई गरेको छ ।
भोलि पुस १ गतेदेखि सार्वजनिक यातायातबाट जथाभावि फोहरजन्य पदार्थ बाहिर फालिए त्यस्ता व्यात्तिलाई ५०० देखि पाँच हजारसम्म जरिवाना र तीन महिनासम्म कैद गरिने स्थानीय विकास मन्त्रालयले जनाएको छ । सवारी साधनबाट थुक्नेलाई पाच सय जरिवाना गरिने र फोहर फाल्नेलाई ५ हजार देखि तीन महिना सम्म जेल समेत हुन सक्ने जनाईएको छ ।
सवारीबाट यात्रा गर्दा सार्वजनिकस्थल तथा सडकमा प्लास्टिक बोतल, खानेकुराको अवशेष, प्लास्टिक झोला, कागज आदि जथाभावी फाल्दा फोहर भई वातावरणमा समेत प्रभाव परेकाले निषेध गरिएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिनुभयो ।
सार्वजनिक यातायातबाट निष्कासन हुने फोहरमैलालाई नियन्त्रण वा व्यवस्थित गर्न प्रत्येक सवारीमा ३० माइकोनमाथिको पोलिथिन थैलो वा डस्टविन राखि सवारी छुट्नुअघि चालकले डस्टविन प्रयोग गर्ने तरिकाबारे यात्रुलाई जानकारी गराउनुपर्ने व्यावस्था गरिएको छ ।
यो नियमको उल्लङ्घन गर्ने व्यक्ति, संस्था वा सवारीका सञ्चालकलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम रु ५०० देखि रु पाँच हजारसम्म जरिवाना र तीन महिनासम्म कैद गरिनेछ । मर्करी जस्ता वातावरणलाई असर पार्ने सामग्री फालेको पाइएमा रु एक लाख जरिवाना गर्ने व्यवस्था ऐनमा छ ।
सवारीबाट सार्वजनिकस्थल वा सडकमा फोहर फाल्नेको सम्पूर्ण विवरण सहित नाम सार्वजनिक गर्न केन्द्रले स्थानीय निकायलाई निर्देश गरेको छ ।
यस्तै भोली बिहान ७ः३० देखि ८ बजेसम्म रत्नपार्क्स्थित बसपार्क, गोङ्गबु नयाँबसपार्क र लगनखेल बसपार्कमा जनचेतनामूलक अभियान सञ्चालन गरिँदैछ ।
अभियानका क्रममा निःशुल्क डस्टविनसमेत वितरण गरिनेछ । पुसभर देशभरका सार्वजनिक यातायातमा जनचेतनामूलक अभियान सञ्चालन गरिने कार्यक्रम छ ।