काठमान्डौ मंसिर ३० ।
एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा आज नेपालले आयोजक श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ ।
टेष्ट मान्यताप्राप्त राष्ट्र श्रीलंका विरुद्धको खेल नेपालको लागि निकै कठिन हुनेछ । तर उमेर समुहका हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले कठिन चुनौती दिने विश्वास गरिएको छ ।
नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रदै छ । नेपालले समुह चरणमा श्रीलंकासँगै भारत र मलेसियासँग पनि प्रतिस्पर्धा गर्ने छ ।
अर्काे समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् । समूहको शीर्ष दुइ टोली सेमिफाइनल पुग्नेछन् ।
प्रतियोगिता अन्तरगत आजै हुने अन्य खेलमा भारतले मलेसिया, अफगानिस्तानले बंगलादेश र पाकिस्तानले सिंगापुरको सामना गर्ने छ । प्रतियोगिता आगामी पुस ८ गतेसम्म सञ्चालन हुने छ ।