काठमाडौं, मंसिर २९ ।
कैलालीको धनगढीमा हुने धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागी आज देखि खेलाडी दर्ता सुरु भएको छ ।
धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले यसअघि गर्दै आएका दुई बेग्लाबेग्लै क्रिकेट प्रतियोगिता डीसीएल र एसपीए कपलाई ‘मर्ज’ गरेर यही चैत ५ गतेदेखि नयाँ प्रतियोगिता घोषणा गरिएको छ ।
प्रतियोगिताका लागि राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आज राजधानीमा पत्रकार सम्मेलनकैबीच खेलाडी दर्ताको सुरुआत गरेका छन् ।
इन्डियन प्रिमियर लिग (आइपीएल)माजस्तै खेलाडीहरुको बोलकबोल गरी विभिन्न सहर र व्यावसायिक घरानाको नाममा टोली घोषणा गर्ने आयोजकको तयारी छ । यो प्रतियोगिताका लागी खेलाडि किनबेच पनि हुन्छ । यसका लागि राष्ट्रिय खेलाडीहरुको न्यूनतम् मूल्य ५० हजार, यु–१९ तथा पूर्वराष्ट्रिय खेलाडीको ३० हजार तथा अरु खेलाडीको न्यूनतम् २० हजार रुपैयाँ निर्धारण गरीएको छ ।
टोली बनाउन चाहने कर्पोरेट हाउसहरुले त्योभन्दा बढी मूल्य कबोल गरेर खेलाडी किन्न सक्नेछन् । आगामी पुस २३ गते खेलाडीहरुको ‘अक्सन’ गरिने र प्रतियोगिताको खेलतालिका निकालिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मूख्य प्रायोजन गरेबापत सगरमाथा सिमेन्टले १५ लाख रुपैयाँ दिनेछ । प्रतियोगिताको विजेता टोलीले १५ लाख रुपैयाँ पुरस्कार जित्नेछ भने उपविजेताले ७ लाख रुपैयाँ पाउने छ ।
ट्वेन्टी–२० ढाँचामा सन्चालन हुने प्रतियोगिता आयोजना गर्न कुल १ करोड ६० लाख रुपैयाँ खर्च हुने आयोजकको दाबी छ ।
प्रतियोगिताबापत उठेको रकम कैलालीको फाप्लामा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ सुरु गरिएको ड्रिम फाप्ला प्रोजेक्टमा सहयोग गरिने जनाइएको छ ।