काठमाण्डौ, मंसिर २९ ।
राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा स्थानीय निकाय पुनस्संरचना आयोग अन्यौलमा पररहेका बेला २ नम्बर प्रदेशका संयोजक सुनीलरञ्जन सिंहले आज राजीनामा दिनुभएको छ ।
मधेस केन्द्रित दलको अवरोधका कारण सो प्रदेशका ८ जिल्लाको पुनस्संरचनाको काम अघि बढ्न नसकेपछि सिंहले राजीनामा दिनुभएको हो ।
आयोग गठन ताका सरकारले दिएको मापदण्डको १४ नम्बर बुँदामा स्थानीय निकाय पुनः संरचना गर्दा स्थानीय राजनीतिक दलसँग समन्वयन गर्नु भन्ने उल्लेख भएपनि सो मापदण्डमा स्थानीय राजनीतिक दलले समन्वयन गर्न नचाहेको र सरकारले अर्को मापदण्ड नदिएकाले राजीनामा दिएको उहाँको भनाई छ ।
उहाँले २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदलाई आयोगमा बोलाएर छलफल गर्दा समेत सहमति हुन नसकेपछि आफुले सो क्षेत्रको जिम्मेवारीबाट राजीनामा दिएको बताउनुभयो ।
सरकारले माग गरे २ नम्बरको पुनस्संंरचना पछि मिलाउने गरी बाँकी प्रदेशको पुनः संरुचना समेटिएको प्रतिवेदन बुझाउन सकिने सिंहले बताउनुभयो ।
मंसिर मसान्तमा प्रतिवेदन बुझाउने तयारीमा जुटेको भनेपनि आयोगले दलिय सहमति अभावमा काम सम्पन्न गर्न सकेको छैन ।