काठमाडौं, मंसिर २९।
तराईमा बढिरहेको चिसो आजदेखि केही कम हुने मौसमविदले बताएका छन् । भारतीय सीमा क्षेत्रमा बनेको उच्चचापीय क्षेत्र कमजोर हुँदै गएकाले चिसो केही कम हुने मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।
अहिले केही ठाउँमा लागेको हुस्सु दिउँसो हटेर मौसम सफा हुने उहाँले बताउनु भयो । भोली देशभरि नै तुलनात्मक रुपमा कम हुस्सु लाग्ने बताइएको छ ।
केहीदिनयता बाक्लो हुस्सुको कारण चिसो बढेपनि भोली सम्म मौसम सफा हुने भएकाले तराईका बासिन्दालाई राहत महशुस हुने मौसमविदको अनुमान छ । हुस्सुका कारण पूर्वी र पश्चिम तराईमा हवाई उडान समेत हुन सकेको छैन ।
तर चिसो बढेपनि शितलहर भने सुरु भैनसकेको मौसमविद् पोख्रेलको भनाई छ । उहाँका अनुसार शितलहर सुरु हुन औषतभन्दा एकैपल्ट झण्डै ४–५ डिग्री सेल्सियस घटेर कम्तिमा १० डिग्री सेल्सियस भन्दा कम तापक्रम हुनुपर्छ । यस्तै ३–४ दिनसम्म निरन्तर बाक्लो हुस्सु लाग्नु पर्दछ ।