काठमाण्डौ ,२८ मंसिर ।
नेपाली फुटबलमा सर्वा्धिक लोकप्रिय क्लब थ्री स्टार क्लवले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ६ करोड क्षतिपूर्ती माग गरेको छ ।
एन्फाको कमजोरीका कारण एसियाको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले–अफ खेल्नबाट वञ्चित भएपछि थ्री स्टारले क्षतिपूर्ती मागेको हो । आज पत्रकार सम्मेलन गरी थ्रीस्टारले आफुहरुको माग सुनुवाई नभए कुनैपनि फुटबल गतिविधीमा सहभागी नहुने समेत घोषणा गरेको छ ।
एन्फाको लापरबाहिका कारण थ्रीस्टार र समग्र फुटबल क्षेत्रलाई नै ठुलो क्षती पुगेको भन्दै क्लबले घटनाका सम्बन्धमा छानविन गरी दोषिमाथी कडा कारबाहिको माग समेत गरेको छ । घटनाका सम्बन्धमा छानविन गर्न एन्फाले गठन गरेको समितिलाइ बिश्वास गर्ने कुनै आधार नभएको भन्दै क्लबले सरकारी स्तरमै उच्चस्तरिय समिती बनाई छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटिलाई आग्रह गरेको छ ।
मंगोलियामा भएको एएफसीकपको प्रारम्भिक छनोट खेलेको थ्री स्टारले समुह विजेता बन्दै प्ले अफ खेल्ने अवसर पाएपनि एन्फाको कारण खेल्नबाट बन्चित हुनपुग्यो ।
एन्फाको लापरवाहिका कारण एएफसीले थ्री स्टारलाई प्रतियोगिता प्ले अफ खेल्ने टिमको सूचीबाट हटाएर दोस्रो स्थानमा रहेको मंगोलीको ईर्चिम क्लवलाई खेलमा समावेश गरेको थियो ।
एएफसीले समय सीमा बढाएर अवसर दिंदा पनि एन्फाले समयमै आवश्यक ‘डकुमेन्ट्स’ सहित थ्री स्टारको नाम नपठाएपछि उसले खेल गुमाउन पुग्यो । क्षतिपूर्ती नपाए थ्री स्टारले कुनैपनि खेल नखेल्ने समेत जनाएको छ ।
नेपाली फुटबल क्षेत्रका सरोकारवालाले पनि पूरा घटनाक्रमलाई यस खेल इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटनामध्ये एक मानेका छन् ।
थ्री स्टारले पहिलो चरणको छनोट खेल्न मात्र ६० लाख रुपैंया खर्च गर्नुका साथै पूरा टिमलाई पारिश्रमिक दिएर राखेको थियो ।
यसअघि एन्फाले नै पनि घटनाको छानविनका लागि आयोग गठन गरेको छ । यसबारे थ्री स्टारलाई दिएको जानकारीमा एन्फाले आफ्नो सचिवालयको तर्फबाट गम्भीर भुल भएको स्विकारेको छ ।
