काठमाडौ,२८ मंसिर ।
चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार बिभाग प्रमुख लिउ छिपाओ आगामि पुस ३ गते नेपाल भ्रमणमा आउने भएका छन् ।
छिपाओको नेतृत्वमा एक उच्चस्तरीय चिनियाँ प्रतिनिधीमण्डल चार्टड फ्लाईटबाट काठमाडौ आउन लागेको हो ।
पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएयता उत्तरी छिमेकी चीनबाट नेपाल आउन लागेका लिउ नै उच्च अधिकारी हुन् । तिन दिन काठमाडौमा रहंदा उनले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन् ।
उपप्रधानमन्त्री सरहको मर्यादामा रहेका उनलाई चीनमा ‘प्रोपागान्डा मिनिस्टर’ भनेर बढी चिनिन्छ । हाल चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य रहेका उनले सन् १९७४ मा राजनीतिक करियर शुरु गरेका हुन् ।
पार्टीका बिभिन्न तहमा काम गर्दै उनी सन् २००७ मा चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तको सचिव नियुक्त भएका थिए ।
कुटनीतिक स्रोतका अनुशार चिनियाँ राष्ट्रपति सि जिनपिङ्को सम्भावित नेपाल भ्रमणको प्रारम्भिक तयारीका सिलसिलामा चिनियाँ उच्च नेता नेपाल आउन लागेका हुन् ।
दाहाल नेतृत्वको सरकारले केपि ओली नेतृत्वको पूववर्ति सरकारका पालामा भएका ऐतिहासिक पारवहन यातायात लगायत सम्झौता कार्यान्वयनमा देखाएको उदासिनताका कारण चीनका तर्फबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन । यद्यपी चिनियाँ पक्षले चिनियाँ राष्ट्रपतिको भ्रमणबारे औपचारिक रुपमा केही नबताएको जानकार स्रोतले बतायो ।
‘यदी पर्याप्त तयारी हुनसक्यो भने चिनियाँ राष्ट्रपति आगामी मार्चको अन्तिम साता या अप्रिल महिनामा नेपाल आउने सम्भावना प्रवल रहेको स्रोतले भनाई छ ।
नेपाल तर्फ आवश्यक तयारी नदेखेपछि गत असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सिको भ्रमणका लागि तयारी भएपनि नेपाल सरकारले यथेस्ट गृहकार्य गर्न नसक्दा भ्रमण स्थगित हुन पुगेको थियो ।
दाहाल नेतृत्वमा सरकार बनेयता नेपालका तर्फबाट पनि राष्ट्रपति या प्रधानमन्त्री स्तरको चीन भ्रमण भएको छैन । ‘चिनियाँ नेताको अब हुन लागेको भ्रमणमा प्रधानमन्त्री दाहालको चीन भ्रमणबारे पनि कुराकानी हुनसक्ने जनाईएको छ ।
नेपाल र चीनका संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा सातौँ चीन महोत्सव पुस ५ र ६ मा काठमाडौमा हुंदैछ । चिनियाँ महोत्सवको एक दिनअघि नेपाल र चीनका सरकारी तथा गैह्रसरकारी संस्थाहरुको संयुक्त आयोजनामा ‘कल्चर फोरम’ को समेत आयोजना हुने भएको छ ।
कल्चर फोरममा चीन तथा सार्क सदस्य देशका संस्कृति विज्ञहरु सहभागि हुने भएका छन् । उक्त कार्यक्रममा नेपाल र चीनका सरकारी अधिकारीहरु, विज्ञ सहभागि हुनेछन् । चीनबाट मात्रै एकसय ५० जना सहभागि हुने बताइएको छ ।
यस्तै चीनको स्वशाषित क्षेत्र तिब्बतका पिपुल्स कंग्रेस (संसद) का अध्यक्ष बाइमा छिलि पनि पुस ५ गते काठमाडौ आउँदैछन् । यो भ्रमणको तयारीका लागि एक तिब्बती टोली आइतबार देखि काठमाडौमा छ । सभामुख ओनसरी घर्तिको निमन्त्रणमा तिब्बती सभामुख नेपाल आउन लागेको सरकारी अधिकारीहरुले बताए ।
उनले प्रधानमन्त्री लगायत उच्च सरकारी अधिकारीहरुसँग भेट्नेछन् । उनका साथमा १८ जना तिब्बती अधिकारीहरु रहने भएका छन् । नेपालमा चीन बिरोधी गतिबिधी तिव्र भइरहेका बेला तिब्बती उच्च अधिकारी नेपाल आउन लागेका हुन् ।