काठमाडौ २८ मंसिर ।
सभामुख ओनसरी घर्तीले आज युएईको आबुधाबीमा जारी महिला सभामुखहरुको विश्व शिखर सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्दै हुनुहन्छ । ईमीरेट्स प्यालेस आबुधाबीमा जारी सम्मेलनमा नेपालसहित विभिन्न देशका ३५ जना महिला सभामुखको सहभागीता रहेको छ ।
सम्मेलनको पहिलो दिन हिजो आयोजक युएई संघीय राष्ट्रिय आयोगकी प्रमुख शेखा फतिमा, युएईका उपप्रधान तथा आन्तरिक मामिला मन्त्री शेख सैफ बिन जायद, युरोपेली आयोगका उपाध्यक्ष फेडीरिका मोघेरिनी, रूसी संसदका सभामुख भ्यालिनटिना मतभिएन्को लगायतले सम्बोधन गर्नुभएको थियो ।
युएईमा झन्डै दुई सय देशका नागरिकले सुरक्षित रुपमा इमान्दार भएर काम गरेको भन्दै विश्व अर्थव्यवस्थाको विकासका लागि उसले राम्रो भूमिका खेलेको भन्दै यसैलाई नमुनाको रुपमा लिन सकिने वक्ताहरुले जोड दिएका छन् ।
सम्मेलनमा नेपालका तर्फबाट सभामुख घर्तीसहित सांसद सीता गुरुङ, टीका भद्र गुरुङ, कमला दोङ र व्यवस्थापिका संसद सचिवालयका महासविच मनोहरप्रसाद भट्टराई, युएईका लागि कार्यबाहक राजदूत नेत्रबहादुर टन्डन लगायतको टोली सहभागी छन् ।
सम्मेलनमा विश्व राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय र डेमोग्राफिक मुद्दाहरूमा छलफल भइरहेको छ । त्यस्तै महिला सशक्तिकरण, लैङ्गिक समानताका विषयलाई प्राथमिकतामा राखेर छलफल केन्द्रित गरिएको छ ।
यसैगरी जलवायु परिवर्तन, जल तथा जैविक विविधताका मुद्दाहरूमा मिलेर वैज्ञानिक र प्राविधिक सम्भावनाको पहिचान गर्ने सम्बन्धमा पनि कुरा भएको छ ।