काठमाडौँ, मङ्सिर २८ ।
किराती समुदायको महान् चाड साकेला उधौली आजबाट सुरु भएको छ । मंसिर धान्य पूर्णिमा देखि यो चाड १५ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
किराती समुदायको बाहुल्य भएको पूर्वी पहाडी जिल्लामा यो चाड विशेष ढङ्गले मनाइन्छ । प्रकृतिपूजक किरातीले यस अवसरमा आफ्ना पूर्वजको सम्झना गर्दै अन्नको पूजा गर्ने, घरघरमा साकेला नाच्ने र आफन्तबीच शुभकामना आदानप्रदान गर्दै चाड मनाउने गर्छन् ।
पहाडी जिल्लाबाट बसाइँसराइ गरेर पूर्वी तराईमा झरेका तथा काठमाडौँ उपत्यकामा रहेका किराती पनि एक ठाउँमा भेला भएर साकेला नाच्दै सामूहिक रूपमा चाड मनाउने गर्छन् ।
प्रत्येक वर्ष मङ्सिर पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौलीको रूपमा मनाउने गरिन्छ । किराती पुर्खाले समयको मापन गर्ने गरी दुई भागमा विभाजन गरेर उधौली र उभौली मनाउँदै आएको विश्वास गरिन्छ ।
नयाँ अन्न भित्र्याइएको खुसियालीमा पनि यो चाड मनाउने गरिन्छ ।
यसैबीच सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।