काठमाण्डौ, मंसिर २७ ।
मुलुकभकरका निजी स्वास्थ्य संस्थामा आगामि पुस १ गतेबाट १० प्रतिशत स्वास्थ्य सेवा निशुल्क हुने भएको छ ।
बिपन्न, असहाय, एकल महिला, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकका लागि सल्यक्रिया र औषधी बाहेकका सेवा निशुल्क हुने व्यावस्था गरिएको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री थापाले निजी अस्पतालको छाता संगठन अफिनसंग भएको सम्झौता अनुसार यही पुस १ गतेबाट सो सेवा लागु हुने बताउनु भयो ।
मुलुकका सबै निजी अस्पताल तथा शिक्षण संस्था, गैह्र सरकारी तथा सामुदायीक अस्पताल र नर्सिङ होममा रहेका मध्ये १० प्रतिशत शैया निशुल्क हुने ब्यवस्था गरिने छ । औषधी र शल्यक्रिया बापत लाग्ने रकम भने सेवाग्राहीले तिर्नुपर्नेछ ।
औषधी र शल्यक्रिया लगायतका सेवा समेत निशुल्क उपलब्ध गराउने विषयमा अफिनसंग छलफल जारी रहेको मन्त्री थापाले बताउनुभयो ।
सेवा लिनका लागी सरकारले तोकेका निकायबाट सिफारिस पत्र लैजानुपर्ने नियम बनाइएको छ । सेवाग्राहीले सुविधा लिन चाहेको अस्पतालमै पनि स्वघोषणा फारम भरी लिन सक्ने व्यबस्था गरिएको छ ।
सुशासन ऐन २०६४ को दफा ३४ मा नै निशुल्क सेवाको व्यवस्था गरिएको भएपनि हाल सरकारी अस्पतालहरुबाट मात्रै दिईदै आएको थियो ।