काठमान्डौ मंसिर २७।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकता बलियो पार्दै संविधान कार्यान्वयन गर्ने कार्यलाई नै सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।
सोसलिष्ट पार्टी अफ बंगलादेशका जनरल सेक्रेटरी खालेकुजमन नेतृत्वको टोलीसँग आज बिहान भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाको पूर्णता, पुनर्निर्माण, नवनिर्माण र आर्थिक समृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराउनु भयो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा
दुई देशको सम्बन्ध एवं नेकपा माओवादी केन्द्र र सोसलिष्ट पार्टी अफ बंगलादेशबीचको अन्तरपार्टी सम्बन्धबारे पनि छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय हित र साझा सवालमा नेपाल र बंगलादेशबीच सम्बन्ध अझै घनिष्ट बन्ने विश्वास समेत व्यक्त गरेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
भेटमा जनरल सेक्रेटरी खालेकुजमनले बंगलादेशको सोसलिष्ट पार्टीले नेपाल र नेकपा माओवादी केन्द्रसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहाललाई बंगलादेश भ्रमणको लागि निमन्त्रणा समेत दिनु भएको थियो ।