काठमाडौ २७ मंसिर ।
सरकारले प्रदेश नम्बर पाँच टुक्राउने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा आज १३ औं दिन पनि गुल्मी जिल्ला बन्द कायमै छ ।
करिब दुई साता लामो बन्दका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण बजार, उद्योग कलकारखाना खुलेका छैनन् भने यातायातका साधन सन्चालनमा आउन नसक्दा आवत जावतमा कठिनाई भएको छ ।
आन्दोलनकारीले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिँदै आएका छन् । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले आज सदरमुकाममा विरोध सभाको आयोजना गरेको छ ।
सभालाई कांग्रेस नेता चन्द्र भण्डारी, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, एमालेका प्रदिप ज्ञवाली, गोकर्ण विष्ट लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताउनुभएको छ ।
पाल्पा, अर्घाखाँची, कपिलवस्तु लगायत जिल्लामा बन्द खुले पनि प्रदर्शन कायमै छ ।