धरान ,२७ मंसिर ।
केहि दिनदेखि मौसममा आएको अस्वभाविक परिवर्तनले तराईमा चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि तराईमा चिसो बढेको हो ।
तराईका विभिन्न जिल्लामा बढ्दै गएको चिसोसँगै सुनसरीमा पनि शीतलहर शुरु भएको छ । करिब एक सातादेखि जिल्लामा चिसोले आफनो रुप देखाए पनि आजदेखि झरी झैं शीतलहरको वर्षा नै हुन थालेको छ ।
बाक्लो हुस्सु, चिसो हावा र शीतलहरका कारण सुनसरी जिल्लाको जनजीवन निक्कै प्रभावित भएको छ ।
शीतलहरको कारण गाउँबस्ती तथा सहरबजारमा मानवीय चहलपहलमा कमी आएको छ भने सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ ।
बिहीबारदेखि सुनसरी जिल्लामा सूर्य समेत देखापरेको छैन भने जाडो सहन नसकिने भएर ठाउँठाउँमा स्थानीयवासीले आगो तापेर बस्नुपरेको छ ।
शीतलहरसँगै बढेको चिसोले जिल्लाका मानिसका साथै वस्तुभाउ र बालीनाली पनि प्रभावित भएको छ । शीतलहरका कारण विशेषगरी सडकमा बसी माँगी खाने, र अति गरिब व्यक्ति बढी प्रभावित भएका छन्
तर अहिलेसम्म चिसोकै कारण महोत्तरीमा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ् ।
कुहिरोसँगै चल्ने चिसो हावाले मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् ।
सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोका कारण सेवाग्रहीहरु पातलिएका छन् । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन ।
साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजारहरु सिम्साँझै सुनसान हुन थालेका छन ।
चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ । चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरुले न्यानो लुगा जोहो गर्न थालेका छन् ।
बाक्लो हुस्सु र शीतका कारण पूर्व पश्चिम राजमार्गको यातायात पनि प्रभावित भएको छ ।
कठ्याग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्नाले सवारी साधानको आवागमनमा असर पुगेको हो । बाक्लो हुस्सुले गर्दा भिजिविलिटी कम हुँदा सवारी साधनहरु कम गतिमा बत्ती बालेर गुड्न बाध्य छन ।
बाक्लो कुहिरोका कारण यातायातका साधनहरु दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक कार्यालयले अनुरोध गरेको छ भने जिल्ला जनस्वास्थ्य कार्यालयले पनि चिसोबाट जोगिन तथा बालबालिका र वृद्धबृद्धाको विषेश ध्यान दिन अनुरोध गरेको छ ।