काठमाडौ २६ मंसिर ।
विद्युत् प्राधिकरणले भारतबाट थप २२० मेगावाट बिजुली आयात गर्ने भएको छ । सुक्खायाममा मुलुकभर लोडसेडिङ घटाउनका लागि भारतबाट थप विद्युत आयात गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ ।
आगामी तीन साता भित्रै भारतबाट १९० मेगावाट र दुई महिना भित्रमा थप ३० मेगावाट विद्युत आयात गर्न प्राधिकरणले तयारी सुरु गरेको छ ।
प्राधिकरणले कुसाहा–कटैयाबाट ५०, ढल्केबर–मुजफ्फरपुरबाट ८०, परवानीपुर–रक्सौलबाट ५०, टनकपुरबाट ४० मेगावाट गरी थप २२० मेगावाट बिजुली भारतबाट आयात गर्न लागेको हो ।
हिउँद र सुक्खायाम सुरु भइसकेका कारण रन अफ रिभर (नदीको प्रवाहमा आधारित) जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्न थालेको छ । राजधानीमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट आयात हुने थप २२० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याउने भएको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली मुजफ्फरपुर–ढल्केबर हुँदै ढल्केबर–खिम्ती र खिम्ती–काठमाडौं प्रसारण लाइनबाट उपत्यकामा ल्याइनेछ ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाट आयात गरिरहेको छ। भारतको मुजफ्फरपुरमा २२०र१३२ केभीको ट्रान्सफर्मर राख्ने काम अन्तिम चरणमा पुगेको छ ।
सुक्खायामसँगै नदीको प्रवाहमा आधारित आयोजनामा विद्युत् उत्पादन घटे पनि भारतबाट आयात हुनेमध्ये ९० मेगावाट राजधानीमा ल्याइने र पिक आवरमा ९२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना चलाउँदा राजधानीमा लोडसेडिङ नहुने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताउनु भयो ।
सबै कुरा योजना अनुसार अघि बढे राजधानीमा हिउँदयाम र सुक्खायाम दुवैमा लोडसेडिङ नहुने अधिकारीको भनाई छ । राजधानीमा बिजुलीको माग अरू समयमा २४० र साँझमा ३१५ मेगावाट छ ।