काठमाण्डौ, २५ मंसिर ।
नेपालकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत हुनु भएको छ । अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा दोस्रो पटक सिएनएन सुपर हिरोमा मनोनीत हुनु भएको हो ।
कारागारका बालबालिकालाई काठमाडौंको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को सिएनएन हिरो उपाधिले सम्मान गरेको थियो ।
केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् । बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राक समेत मनोनयन भएका छन् ।
सिएनएन सुपर हिरो बनाउन आज र भोलि CNNheroes.com मा गएर मत दिन सकिने छ । नेपाली समय अनुसार यही मङ्सिर २७ गते बिहान ८ बजे सिएनएन सुपर हिरोबारे सिएनएन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।