काठमाडौ २५ मंसिर ।
घर शान्ति नै विश्व शान्तिको आधार भन्ने नाराका साथ गत नोभेम्बर २५ देखि सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान आज औपचारिक रुपमा समापन गरिदैछ ।
अभियानका क्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग लगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाले विविध कार्यक्रमको आयोजना गरेका थिए ।
लैंगिक हिंसा पनि मानव अधिकार हनान्को मुख्य पाटो हो भन्ने मान्यतालाई आत्मासत् गर्दै सन् १९९१ बाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारीखसम्म यो अभियान सन्चालन हुने गर्ने गर्दछन् ।
लैंगिक हिंसा गर्ने सुचीमा नेपाल अग्रणी स्थानमा रहेकाले अभियानको आवश्यकता थप बढेको सरोकारवालाको भनाई छ । यस्तै नेपालमा ६२ प्रतिशत लैंगिक हिंसाका घटना श्रीमान् वा नजिकका व्यक्तिबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय महिला आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार समाजमा महिलाले आफ्नो रक्षक वा आफ्नो सबैभन्दा नजिक मानिएको सम्बन्धभित्रबाट हिंसा भइरहेको देखाएको हो ।