भक्तपुर, मंसिर २४ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद अवरोधले संवैधानिक र लोकतान्त्रिक प्रक्रिया नै अवरुद्घ हुने भएकाले आन्दोलनको सट्टा समाधानको बाटो खोज्न आग्रह गर्नुभएको छ ।
भक्तपुरको सल्लाघारीमा आजदेखि सुरु भएको ६ दिने अन्तर्रा्ष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै निधिले आन्दोलन छाडेर समस्या समाधानका लागि एमालेलाई संवादमा आउन आग्रह गर्नुभयो ।
उहाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकैबेला संविधान संशोधनका लागि छलफल र सम्झौता भएको जिकिर गर्दै बिरोध गर्नुको कुनै तुक नभएके बताउनु भयो ।
सहमतिका लागि सरकार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकलाई परिमार्जन गर्न तयार रहेको भन्द्यै उहाले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनु आवश्यक रहेकामा जोड दिनुभयो ।
संविधान संशोधनको विषयलाई लिएर आन्दोलनमा जानु र पक्ष–विपक्षमा विभाजित हुनुभन्दा वार्ताबाटै निकासका लागि अधिकतमभन्दा अधिकतम सहमति खोज्नुपर्ने उहाको भनाइ थियो ।
संविधान घोषणा भएदेखि नै संविधान संशोधनको कुरा उठेको बताउँदै उनले दल मिलेर संविधान कार्यान्वयनमा जानुको विकल्प नरहेकामा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले लगानीको वातावरणलाई नबिगारी उद्योग सन्चालनमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग वाणिज्य संघ भक्तपुरका पूर्वअध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद ताम्राकारले भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी जग्गा अन्तर्रा्ष्ट्रिय मेलास्थलका लागि संघलाई दिन सरकारसँग माग गर्नुभयो ।
त्यस अवसरमा प्रजिअ तेजप्रसाद पौडेल, संयोजक राजुमृगेन्द्र जोशी, संघका अध्यक्ष केपी अवाल, प्रथम उपाध्यक्ष रामप्रसाद प्रजापतिलगायतले मेलाले भक्तपुरको विकासमा टेवा र्पुयाउने बताउनु भयो ।