काठमाडौं, मंसिर २४ ।
छनोट प्लेअफमा समुह विजेता बनेर पनि नेपाली फुटबलको शीर्ष क्लब थ्री स्टारले एएफसी कपको दोस्रो राउन्ड खेल्न बञ्चित हुने भएको छ ।
अगष्टमा छनोट प्लेअफमा चार अंकसहित समूह ‘बी’ को विजेता बन्दै एएफसी कपको दोस्रो चरणमा छानिएको थियो । तर अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाहीका कारण उसले दोस्रो प्ले अप गुमाउने भएको छ ।
थ्री स्टारको भन्दा १ अंक कम भएको आयोजक मंगोलियाली इर्चिम दोस्रो चरणमा छानिए पनि थ्री स्टारको नाम एएफसीले सार्वजनिक गरेको दोस्रो चरणमा सहभागी मुलुकको सूचीमा परेन ।
एएफसीले डिसेम्बर १३ मा खेल तालिका तय गर्ने भएको छ । एफएसीको वेबसाइटमा प्रकाशित सूचीअनुसार नेपालको ठाउँमा मंगोलिया परेको छ ।
प्रतियोगिताको दोस्रो चरण जनवरी २४ देखि फेब्रुअरी ७ सम्म हुने छ । अन्तिम चरण भने फेब्रुअरी २० देखि हुने छ । जसको खेल स्थलबारे अझै निर्णय भइसकेको छैन ।
एएफसीले प्रतियोगिताका लागि टिम दर्ता गर्न एन्फालाई बारम्बार स्मरण गराएको थियो । तर तीन पटकको लिखित पत्राचारको जवाफ नदिएपछि एएफसीले डिसेम्बर ६ मा थ्री स्टार क्लबलाई प्रतियोगिता सामेल गर्न नसकिने भन्दै एन्फालाई जानकारी पठाएको थियो ।