काठमाडौ २४ मंसिर ।
मानिसको अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले चार वर्षअगाडि सरकारले स्थापना गरेको ‘मानव अङ्ग प्रत्यारोपण केन्द्र’ भक्तपुरबाट पहिलोपटक कलेजो (लिभर) प्रत्यारोपण भएको छ ।
बुधबार भक्तपुर सूर्य्विनायकका ३६ वर्षीय बलराम नागाको सफल रूपमा कलेजो प्रत्यारोपण गरिएको हो । लरामलाई उहाँका ४१ वर्षीया दिदी सानुमाया लागेजूले कलेजो दिनुभएको हो ।
उक्त शल्यक्रिया दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विशेषज्ञहरूको टोलीको सहभागितामा सम्पन्न भएको हो । विगत तीन वर्षदेखि मिर्गौला प्रत्यारोपण गर्दै आएको केन्द्र छोटो अवधिमै कलेजो प्रत्यारोपण गर्न सफल भएको हो ।
चिकित्सा विज्ञानमा अत्यन्तै जटिल मानिएको कलेजो प्रत्यारोपण नेपालमै हुनु देशकै लागि ठूलो सफलता भएको केन्द्रका कार्यकारी निर्देशक तथा अंग प्रत्यारोपणविद् पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।
दक्षिण कोरियाबाट आएका सात सदस्यीय टोलीसहित नेपाली चिकित्सकको टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको हो । जापान, अमेरिका, बेलायत जस्ता विकसित मुलुकमा कलेजो प्रत्यारोपण गर्दा प्रयोग हुने प्रविधि र विधि नै कलेजोको सफल प्रत्यारोपण भएको श्रेष्ठले बताउनु भयो ।
गत आइतबार अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ पास भएपछि नेपालमा कलेजो प्रत्यारोपणको बाटो खुलेको हो । यो नियमावली गत १६ मङ्सिरमा मात्र मन्त्रिपरिषद्को बैठकले पास गरेको थियो ।
नेपालमा कलेजो प्रत्यारोपण नहुँदा नेपालबाट भारत, जापान, अमेरिकाजस्ता मुलुकमा गएर झण्डै नेपाली एक करोड ५० लाख रुपियाँसम्म खर्चेर कलेजो प्रत्यारोपण गर्नुपर्ने बाध्यात्मक अवस्था थियो ।
नेपालमा यो सेवा सुरु भएपछि अब करिब १५ लाख रुपियाँको हाराहारीमा कलेजो प्रत्यारोपण हुने भएको छ ।