काठमाडौं ,मंसिर २३ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन अनिवार्य रहेको बताउनु भएको छ ।
ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनमा आज काग्रेस नेता गुरुराज घिमिरेद्धारा लिखित प्रतिज्ञाको पहाड कविता संग्रह लोकार्पण गर्दै सभापति देउवाले स्थानीय निकायको निर्वाचन गराउन सरकार लागि परेको बताउनुभयो ।
स्थायी शान्तिका लागि सहयोग गर्न प्रतिपक्षी एमालेलाई आग्रह गर्दै देउवाले हिमाल, पहाड र तराईका जनता बिच सुमधुर सम्बन्ध बनाउन सबै राजनीतिक दल एकजुट हुनेपर्नेमा जोड दिनुभयो ।
फरक प्रसङ्गमा देउवाले साझा प्रकाशनलाई लिलामीबाट बचाउन आफुले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलेन्द्र प्रसाद शर्माले संस्थालाइ धरासायी हुनबाट बचाउन राजनीतिक दललाइ आग्रह गर्नु भयो ।
शर्माले बैंकबाट दिनहुँजसो लिलामीको सूचना निकाल्ने भन्दै आफुलाइ फोन आउने गरेको गुनासो गर्दै २० करोड रुपैयाँ दिने प्रधानमन्त्रीको आश्वासन छिटो कार्यान्वयन गर्न आग्रह समेत गर्नुभएको थियो ।