काठमाडौं, मंसिर २२ ।
पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने संख्यामा बृद्धि भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
नेपालमा सामाजिक सञ्जालको विकाससँगै पछिल्लो समय फेसबुकको प्रयोगबाट आवपराधिक घटना घटाउने क्रम बढेको महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले बताउनु भयो ।
विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाउने र आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन उक्त आइडी प्रयोग गर्ने गरेको उहाले बताउनु भयो ।
२० देखि ३० वर्ष उमेरका मानिस बढी साइबर अपराधमा सक्रिय भएको भन्दै उहाले महाशाखामा दैनिक साइबर अपराधका पाँचदेखि सातओटा घटना दर्ता हुने गरेको पनि जानकारी दिनुभयो ।
महाशाखामा दर्ता भएका घटनामध्ये ९० प्रतिशत फेसबुकबाट हुने रहेको महाशाखाले जनाएको छ । महाशाखामा आर्थिक वर्ष २०७२र७३ मा आठसय ३० र आव ०७३÷७४ मा चारसय ६६ अपराध दर्ता भएका छन् ।
तीमध्ये आव २०७२÷७३ मा १७ र आव २०७३÷७४ मा १५ मुद्दा दर्ता अदालतमा गएको र बाँकीलाई ब्लक गर्न या नयाँ आइडी बनाएर फेसबुकको प्रयोग गर्न लगाएको रायले बताउनु भयो ।
अपराधमा विद्यार्थी तथा गृहिणीदेखि जागिरेसम्म रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले नचिनेका व्यक्तिलाई फेसबुकमार्फत् साथी बनाउँदा साइबर अपराधका घटना बढेको भन्दै अपराधमा विद्यार्थी तथा गृहिणीदेखि जागिरेसम्म रहेको बताउनु भयो ।
जथाभावी सामाजिक सञ्जालमा लेख्ने वा अर्कोको नाममा आइडी बनाउने व्यक्तिलाई कडा कानुन बनाइ कारबाही गरेमात्र यस्ता घट्ने भन्दै उहाले सामाजिक सञ्जालको प्रयोगका लागि नेपालमा आफ्नै साइट बनाउनु जरुरी रहेको बताउनु भयो ।