काठमाडौं, मंसिर २० ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसविच आज विहान भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको जनाएको छ ।
भेटमा प्रधानमन्त्री दाहालले सरकार संविधान कार्यान्वयन गर्न गम्भीर रुपमा लागेकाले सबै दलहरु पनि सहमतिको माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने विश्वास व्यक्त गर्नु भएको थियो ।
नेपालको शान्ति प्रक्रिया र द्वन्द्वको व्यवस्थापन मौलिक भएको भन्दै उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताउनु भयो ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीहरुको भविष्यबारे पनि चासो व्यक्त गर्नुभएको थियो ।
जवाफमा राजदूत टेप्लिसले अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपर्ने जानकारी गराउनु भएको थियो ।
साथै उहाँले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको र अमेरिका सधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको बताउनु भयो ।
भेटमा संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि पनि कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।