काठमाडौ २० मंसिर ।
कपिलवस्तुको सदरमुकाम तौलिहवा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि लागु हुनेगरी निषेधित क्षेत्र घोषणा गरेको हो ।
गएराति बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला प्रशासन कार्यालय चोकबाट पूर्वमा बाणिज्य बैंक सम्म र उत्तरमा कृषी विकास बैंक हुँदै महिता चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
यस्तै दक्षिणमा आन्दोलन चोकसम्म, पश्चिममा गौढी चोक हुँदै उत्तर भिच्छु चोकसम्मको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको स्थानीय प्रशासन कार्यलयले जनाएको छ ।
संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि कपिलवस्तुका विभिन्न स्थानमा विरोध र समर्थनमा प्रदर्शन हुन थालेपछि शान्ति व्यवस्थामा खलबल पुग्न सक्ने भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीले बताउनुभयो ।
यसैबीच ५ नम्बर प्रदेशलाई टुक्र्याउने संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमाले लगायतका दलले जिल्ला सदमुकाम तौलिहवामा आज दिउँसो विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।