घर बनाउने ज्यामी काम गर्ने रसुवाका रमेश तामाङले धेरैपटक करौँतीले काठ चिरे । घर बनाउन धेरैपटक खाल्डो खने । काठ चिर्ने तिनै हातले उनले प्रेमिकाको घाँटीमा करौँती चलाए । घरको जगका लागि खाल्डो खन्ने उनले प्रेमिकालाई गाड्न खाल्डो खने । बिहीबार प्रहरीले पक्राउ गरेपछि तामाङले क्रूर तरिकाले प्रेमिकाको हत्या गरेको घटना बाहिर आएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनको बयान सुनेर प्रहरी अधिकारी नै चकित भएका छन् ।
६ महिनापछि उजुरी
गत ११ मंसिरमा चितवनकी नीरा श्रेष्ठ आफ्नी दिदी प्रतिमा अमात्य हराएको भन्दै खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निवेदन लिएर पुगिन् । लामो समयदेखि प्रतिमाको मोबाइल पनि स्विच अफ थियो । कोही पनि आफन्तसँग सम्पर्क थिएन । एक–दुई महिना त कतै व्यस्त होलिन् भनेर उनका माइतीले वास्ता गरेनन् । तर, ६ महिनासम्म कुनै सम्पर्क नभएपछि माइती पक्ष विदुरस्थित घरमा पुगेको थियो । तर, घर बिक्री भइसकेको थियो । आफ्नो घर बिक्री गरेर उनी नजिकै डेरामा बस्न थालेको छिमेकीले बताएका थिए ।
प्रतिमाको माइती चितवन हो । माइती पक्षले खोजीका लागि सुरुमा जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो । चितवनले नुवाकोटबाट हराएकाले नुवाकोट प्रहरीको कार्यक्षेत्र भएको बताएपछि माइतीले ११ मंसिरमा नुवाकोटमा उजुरी दिएका थिए । नुवाकोट प्रहरीले सोही दिनदेखि अनुसन्धान अघि बढायो । सुरुमा उनको पुरानो घरमा पुग्यो । जुन बिक्री भइसकेको थियो । उक्त घर बिक्री गरेर प्रतिमा एक युवकसँग नजिकै डेरामा बस्न थालेको सूचना प्रहरीले पायो । ‘त्यही केटाले कतै भगाएर लुकाएको हुन सक्छ,’ उनका छिमेकीले यस्तो जवाफ दिएपछि प्रहरी तिनै युवकको खोजीमा लाग्यो ।
निकै मिहिनेत गरेपछि प्रहरीले युवक बालाजुमा बस्ने गरेको पत्ता लगायो । प्रहरी बिहीबार दिउँसो बालाजुस्थित उनको ट्याटु पसलमा पुग्यो । प्रहरीले खोजेका युवक अर्थात् रमेश तामाङ त्यही पसलमै थिए । ‘हामी प्रहरी हौँ, तिमीसँग केही सोधपुछ गर्नु छ, प्रतिभा अमात्यलाई चिन्छौ ?’ प्रहरीले प्रतिमाबारे सोधेपछि उनी झस्किए । केही कुरा गडबड छ भन्ने प्रहरीले चाल पाइहाल्यो ।
अनुसन्धानका विभिन्न विधिमध्ये प्रहरीले फकाउने विधि अपनायो, ‘हेर तिमीलाई केही हुन्न, सबै कुरा जे हो त्यही हामीलाई भनिदेऊ ।’
‘मैले उसलाई मारिदिएँ, सर,’ रमेश सजिलै खुल्न थाले ।
‘कहाँ ?’ थोरै मिहिनेतले नै प्रहरीले अनुसन्धानमा सफलता हात लगाइसकेको थियो । प्रहरीले विस्तृतमा सोधपुछ सुरु गर्यो । उनले नुवाकोटको जंगलमा हत्या गरेको बताए ।
‘शव कहाँ छ ?’
‘त्यहीँ गाडेर राखेको छु सर,’ तामाङले एकपछि अर्काे घटना सुनाउँदै गए । रमेशले शव गाडेको स्थानमा प्रहरीलाई लगेर देखाए । उनले भनेकै स्थानमा प्रतिमाको शव भेटियो । शव गलिसकेको थियो । हातमा घडी थियो । त्यही घडीका माध्यमबाट शव प्रतिमाकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका इन्स्पेक्टर जितेन्द्र बस्नेतले बताए ।
घर निर्माणले जोडेको साइनो
१२ वैशाख ०७२ को भूकम्पमा परी प्रतिमाका श्रीमान् र सासूआमाको मृत्यु भएको थियो । बिहे गरेको करिब २० वर्ष भए पनि उनको बच्चा भएको थिएन । त्रिशूलीको पुरानो बजारमा उनी एक्लै बस्दै आएकी थिइन् । गत वैशाखमा उनले श्रीमान्को वार्षिकी पनि मनाएकी थिइन् । वार्षिकीमा बहिनीलगायत उनका माइती पक्षका आफन्त आएका थिए । त्यसयता उनको माइती पक्षसँग सम्पर्क भएको थिएन ।
रसुवा ठुलोगाउँ घर भएका १९ वर्षीय रमेश ज्यामी काम गर्दथे । विदुरमा प्रतिमाको घरकै छेउमा एक घर निर्माणमा उनी संलग्न थिए । त्यही वेला उनीहरूको चिनजान भएको थियो । प्रतिमा घरमा एक्लै थिइन् । उनले रमेशलाई घरमै बोलाउन थालिन् । बिस्तारै उनीहरू एक–अर्काप्रति नजिकिँदै गए । उनीहरूबीच सम्बन्ध रहन थाल्यो । दुवैले बिहे गर्ने कसमसमेत खाए ।
वैशाखको अन्तिम सातातिर प्रतिमाले घर बिक्री गरिन् । घर बिक्री गरेपछि उनी विदुरमै डेरा लिएर बस्न थालिन् । उक्त डेरामा रमेश पनि सँगै बस्न थाले । उनीहरूले बिहे गरेका थिएनन्, लिभिङ टुगेदरमा बस्न थालेका थिए ।
सम्बन्ध पुरानो हुँदै जाँदा उनीहरूबीच झगडा पनि बढ्दै गयो । ‘अरू केटीहरूसँग बोलेको देख्यो कि मसँग झगडा हुन्थ्यो,’ पक्राउ परेपछि रमेशले भने, ‘पछि, बिहे गर्न दबाब दिँदै गइन् । धेरै विषयमा झगडा हुन थालेको थियो, त्यो दिन पनि झगडाकै क्रममा मारिदिएको हुँ ।’
विवाहदर्ताको प्रलोभनमा हत्या
बिहे नगरे पनि विवाहदर्ता गरेर श्रीमतीको मान्यता दिन रमेश तयार भए । त्यहीक्रममा दुवैजना गत २० जेठमा रमेशको गाउँतर्फ गए । विवाहदर्ताकै लागि भनेर रमेशले प्रतिमालाई आफ्नो घर लिएर गएका थिए । बेत्रावतीसम्म उनीहरू बसमा गए । त्यहाँबाट युवकको घर जाने बस भेटिएन । त्यसपछि उनीहरू हिँड्दै हिँड्दै गइरहेका थिए । युवकले जंगलको एकान्तको बाटो हुँदै लिएर गए । बाटोमा फेरि उनीहरूबीच झगडा भयो । झगडाकै क्रममा युवकले ढुंगाले टाउकोमा हानेर प्रतिमालाई बेहोस बनाए । बेहोस बनाएपछि झाडीमा उनलाई लुकाएर नजिककै एउटा गोठमा गए । जहाँबाट करौँती, पिक लगायत औजार ल्याए ।
प्रहरीका अनुसार बेहोस रहेकी प्रतिमाको उनले घाँटी रेटिदिए । पिकले खाल्डो खनेर शव गाडिदिए । घाँटी रेट्ने क्रममा उनको मृत्यु भइसकेको थिएन । ‘उनको अलि–अलि सास थियो,’ पक्राउपछि रमेशले भनेका छन् । घटनास्थलमा उनको टाउको भेटिएको छैन । उनले टाउको र शरीर छुट्याउने गरी कराैँतीले घाँटी रेटेका थिए । शवसँगै टाउको पनि गाडेको बताएका छन् । तर, टाउको फेला परेको छैन ।
शव गाडेको ठाउँ भीर र तल खोला भएकाले गाड्ने क्रममा टाउको गुडेर खोलामा खसेको हुन सक्ने प्रहरीको आशंका छ । नुवाकोटको फिकुरी–८ गोगने जंगलमा उनले त्यसरी हत्या गरी शव गाडेका हुन् । त्यहाँबाट उनको घर डेढ घन्टाको दूरीमा छ ।
पैसाका लागि हत्या ?
हत्याको एउटा कारण पैसा भएको हुन सक्ने नुवाकोटका प्रहरी प्रमुख एसपी देवबहादुर बोहोरा बताउँछन् । प्रतिमाले घर बेचेको करिब नौ लाख रुपैयाँ डेरामै राखेकी थिइन् । उनले रमेशलाई मोटरसाइकल पनि किनिदिएकी थिइन् । सोही पैसा हात पार्ने उद्देश्यले पनि उनले हत्या गरेको हुन सक्ने एसपी बोहोराले बताए । तर, रमेशले आफूले पैसा नलिएको बताएका छन् ।
झगडा हुँदा रिसको आवेगमा आएर आफूले हत्या गरेको रमेशले बताएका छन् । तर, घटनाको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी भने योजनाबद्ध रूपमा नै उनले हत्या गरेकोजस्तो देखिएको बताउँछन् । बेत्रावतीबाट घर जाने छोटो बाटो हुँदाहुँदै उनले एकान्त जंगलको बाटो लिएर गएका थिए ।
त्यस्तै, प्रहरीका अनुसार प्रतिमालाई बेहोस बनाएपछि स्थानीयको गोठमा कराैँती र पिक लिन जानुले पनि हत्या योजनाबद्धजस्तो देखिन्छ । पहिले नै उक्त गोठमा उनले करौँती ल्याएर राखेको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । नुवाकोट प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरेको छ । रमेशलाई कर्तव्यज्यान मुद्दामा कारबाही अघि बढाइएको एसपी बोहराले बताए ।
हत्या गरेर शव गाडेपछि रमेश बेत्रावती फर्किएर राति होटेलमा बसे । भोलिपल्ट विदुरस्थित प्रतिमाको डेरामा रहेका विभिन्न सामान गाडीमा राखेर काठमाडौं हुँइकिए । त्यसयता बालाजुमा उनी ट्याटु पसल खोलेर बस्दै आएका थिए । हत्याको ६ महिना हुँदा पनि कसैले उनीसँग सोधपुछ गरेको थिएन । एकान्त जंगलमा लगेर शव गाडेकाले कसैले थाहा नपाउनेमा उनी ढुक्क थिए । तर, ६ महिनापछि प्रहरीले हत्कडी लिएर आएपछि मात्र उनको अपराधको पश्चात्ताप सुरु भयो ।
२६ वर्ष जेठी प्रेमिका
१९ वर्षीय रमेश अविवाहित थिए । तर, ४५ वर्षीया प्रतिमाको रमेश जन्मनुभन्दा पहिले अर्थात् २० वर्षअघि नै बिहे भइसकेको थियो । उनीहरूबीच २६ वर्ष उमेर ‘ग्याप’ थियो । बारम्बार झगडा हुनुमा उमेरको ग्याप पनि एउटा कारण हुन सक्ने अनुसन्धानमा आबद्ध इन्स्पेक्टर दीपेन्द्र बस्नेत बताउँछन् । प्रतिमाले विवाह गर्न पनि दबाब दिँदै आएकी थिइन् । तर, रमेश आफूभन्दा जेठी भएकीले उनीसँग बिहे गर्न तयार थिएनन् । तर, प्रतिमासँग पैसा भएकाले उनलाई छाड्न पनि सकेका थिएनन् । एकान्त जंगलमा लगेर हत्या गर्दा कसैले थाहा नपाउने र पैसा पनि आफ्नो हुने ठानेर उनले त्यसरी हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।नयाँ पत्रिकाबाट
