अछाम ,४ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अछामको तिमिल्सेन गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षिय महिलाको निधनबारे जानकारी लिनुभएको छ ।
छाउपडी गोठमा बसेकी २१ वर्षीय डम्बरा उपाध्यायको मृत्यु भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालको सचिवालयले अछामका प्रमूख जिल्ला अधिकारी कुशलराज शर्मासँग टेलिफोन गरी घटनाबारे चासो लिएको हो ।
आज दिउँसो प्रधानमन्त्रीको सचिवालयले प्रमूख जिल्ला अधिकारी शर्मालाई फोन गरी घटनाको बारेमा यथार्थ जानकारी गराउन निर्देशन दिएको छ ।
साथै छाउपडी प्रथा जस्तो कुरिता अन्त्यका लागि यथाशिघ्र सरोकारवालाहरुको बैठक बोलाएर जागरण अभियान सञ्चालन गर्न र सामाजिक क्षेत्रमा क्रियाशील एनजिओ, आइएनजिओहरुलाई सेमिनार र गोष्ठीमा मात्रै रकम खर्च गर्ने परिपाटी तोडेर जनचेतनामूलक कार्यमा लाग्ने वातावरण बनाउन पनि निर्देशन दिएको जनाईएको छ ।
जवाफमा प्रमूख जिल्ला अधिकारी शर्माले घटनाको यथार्थ बुझेर आवश्यक जानकारी गराउने बताउनु भएको थियो ।
उहाले छाउपडी प्रथा अन्त्यका लागि आफ्नो तर्फबाट सरोकारवालाहरुको बैठक बोलाएर प्रक्रिया अगाडि बढाउने पनि जानकारी गराउनु भएको छ ।