काठमाण्डौ ,२१ कार्तिक ।
मिथिला क्षेत्रमा विषेश श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
ब्रतालुले आज जलासय वा नदी किनारमा ठेकुवा भुसुवा नरिवल र भोगटे लगायत पुजन सामग्री सहित छठी माताको पूजाआजा गरी पश्चिमतर्फ फर्केर अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेका छन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्व अन्तरगत षष्ठीका दिन आज अस्ताउदो सुर्यलाई अर्घ दिने गरिन्छ ।
विषेश गरी तराई मधेश क्षेत्रमा मनाउने यो पर्व पछिल्लो समय काठमाडौ उपत्यकासहित अन्य क्षेत्रमा समेत मनाउन थालिएको छ ।
छठको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी बेलुका गुह्येश्वरी र कमलपोखरी पुगेर छठ पूजामा सहभागि हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल पनि छठ पर्बका अबसरमा कमलपोखरी, रानीपोखरी, पशुपति लगायतका घाट पुग्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दवहादुर पुनले पनि छठ कार्यक्रममा सहभागीता जनाउनु भयो ।
छठ पूजा गर्नाले पुत्रप्राप्ति र छालारोग निको हुनेगरेको धार्मिक मान्यता समेत रहिआएको छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यो पर्वको विशेषता रहेको छ ।
यस पर्वमा केरा, नरिवल, ऊखु, सुन्तला, निबुवा, बेसार, चामल र गहुँको आँटा तथा सख्खरबाट बनाइएका ठेकुवा, भुसुवा, पेरुखिया लगायतका पारम्परिक परिकारहरु प्रसादको रुपमा प्रयोग गरिन्छ ।
यस्तै आज रातभर जाग्रम बसी भोली बिहान जलाशयमा गई उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।




