काठमाडौ १२ कार्तिक ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य, मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नहुँदा पुनरनिर्माणमा जटिलता देखिएको बताउनु भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले आज आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उहाँले पुराना गाउँ नछोड्ने तथा पुरानो संस्कार र संस्कृतिले सरकारलाई नयाँ बस्ती बसाल्न गाह्रो भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति भण्डारीले पहाडमा सुविधा सम्पन्न बस्ती बसाल्ने धुर्मुस सुन्तलीको प्रयास प्रसंशानीय रहेको समेत बताउनु भएको छ । तराईमा मात्र नमुना बस्ती निर्माण गर्न सकिन्छ भन्ने पराम्परा अन्त्य गर्दै धुर्मुस सुन्तलीले गरेको काम नमुना र अरुका लागि प्रेरणाको स्रोत भएको उहाँले बताउनु भयो ।
धुर्मस सुन्तली फाउन्डेसनले गिरानचौरमा नमुना बस्ती निर्माण गरेर सरकारलाई नै चुनौती दिएको राष्ट्रपति भण्डारीको भनाई छ । भूकम्प प्रभावित क्षेत्रका विभिन्न गाउँमा एकीकृत नमुना बस्ती बसाल्न सकिने औंल्याउँदै पुनःनिर्माणको काममा राज्य र जनसमुदाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले भौगोलिक बनावटको हिसाबले नेपाल प्राकृतिक विपद्को उच्चजोखिममा रहेकाले पहाडी क्षेत्रमा पूर्वाधारको अभावले गर्दा एकीकृत बस्ती बसाल्न कठिन भएको बताउनु भयो ।
समारोहमा बोल्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ती सरकारका लागि सिक्न लायक विषय भएको उल्लेख गर्दै यस खालका अभ्यासलाई देशका अरु भागमा पनि लागू गर्न सकिने बताउनु भयो ।
सांसद अग्नि सापकोटाले नयाँबस्ती पुनःनिर्माणको महाविश्वविद्यालय भएको र यो राजनीतिक पार्टीका लागि प्रेरणाको स्रोत समेत भएको टिप्पणी गर्नुभयो । अर्का सांसद शेरबहादुर तामाङले भूकम्पपीडित समुदायलाई एकीकृत घर निर्माण गरेर कलाकार धुर्मुस–सुन्तलीले ठूलो प्रसंशनीय काम गरेको उल्लेख गर्नुभयो ।