काठमाडौ, कात्तिक १२ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको संविधान अत्यन्त राम्रो भएपनि परिमार्जनको आवश्यकता रहेको बताउनु भएको छ ।
मुलुक संविधान संशोधनको दिशाातर्फ गइरहेको अवस्थालाई दृष्टिगत गर्दै सबैपक्ष गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रेस युनियन नेपालले आज धनुषाको जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपाली जनताको अभिप्राय अनुरूप संशोधन प्रक्रिया छिटो भन्दा छिटो सुरू गर्नुपर्ने धारणा राख्नुभयो ।
महामन्त्री कोइरालाले प्रतिपक्षी दल नेकपा एमाले पनि संविधान संशोधनप्रति नकारात्मक नरहेको टिपपणी गर्नुभयो ।
संविधान कार्यान्वयनको चुनौतीमाझ राष्ट्रको भविष्य जटिलतातर्फ गइरहेकाले संविधान संशोधन सन्दर्भमा दुईओटा प्रदेशको मागप्रति गम्भीर भएर सोच्न र यसबारे परामर्श गरी मिलनबिन्दू खोज्न पनि उहाँले आग्रह गर्नुभयो ।
एक प्रसंगमा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाभियोगले राष्ट्रिय एजेन्डालाई केही हदसम्म प्रभावित पारेपनि त्यसलाई ओझेलमा पार्ने षड्यन्त्र भने नभएको जिकिर गर्नुभयो ।