काठमाडौं, कात्तिक ११ ।
मधेसी मोर्चा सम्मिलत संघीय गठबन्धनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लागेको महाअभियोगको बिषय अदालतले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ ।
राजधानीको तिन कुने स्थित संघीय समाजवादी फोरमको पार्टी कार्यालयमा बसेको गठबन्धनको बैठकले कार्कीलाई महाअभियोग लगाउनुको औचित्य पुष्टि गर्न पनि माग गरेको छ ।
बैठकले विगतमा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउनुको कारण र अहिले आएर उहामाथि महाअभियोग लगाउनुको कारण स्पस्ट पार्न प्रमुख दलहरुलाई आग्रह गरेको बैठकमा सहभागी तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश रायले जानकारी दिनुभयो ।
कार्कीलाई महाअभियोग लगाउनुअघि र लगाइसकेपछि पनि दलहरुले आफूसँग यो विषयमा कुनै छलफल नगरेको भन्दै गठबन्धनले आपत्ति जनाएको छ ।
त्यसैले कार्कीमाथिको महाअभियोगको पक्षरविपक्षमा आफूहरुले तत्काल केही धारणा सार्वजनिक नगर्ने भन्दै अदालतमा विचाराधीन अवस्थामा रहेको यो विषयको टुंगो अदालतबाटै लगाउनुपर्नेमा गठबन्धनले जोड दिएको छ ।
बैठकले विगतमा सरकार गठनकाबेला आफूहरुसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनका लागि पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार उदासीन रहेको निष्कर्षसमेत निकालको रायले बताउनु भयो ।
यस्तै गठबन्धनले छठपर्वसम्म पनि आफूहरुको माग पूरा नभए छठलगत्तै आन्दोलनको तयारी गर्ने निर्णय पनि गरेको छ ।
तत्काल संविधान संशोधन गरी आफूहरुले उठाएको माग पूरा गर्न सरकारलाई आग्रह गर्दै संविधान संशोधनबिना विभिन्न निकायको चुनाव असम्भव भएको पनि बैठकको निश्कर्ष छ ।
गठबन्धनमा विभिन्न आदिवासी जनजाति सम्बद्ध राजनीतिक दल र मधेस केन्द्रीय राजनीतिक दलहरु सम्मिलत छन् ।