एजेन्सी, ११ कार्तिक । स्पेनिस कोपा डेल रे कप फुटबलमा रियल मड्रिडले कल्चरल लिओनेसोमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा रियल मड्रिडले तेस्रो डिभिजनको क्लब कल्चरल लिओनेसोमाथि ७–१ को जित हात पारेको हो ।
खेलको छैँटौं मिनेटमा लियोनेसका गियान्नी जुइभरलोनको आत्मघाती गोल उपहार पाएको रियलले बाँकी समयमा आधा दर्जन गोलको बर्षा ग¥यो ।
खेलको ३२ औँ मिनेटमा मार्को असेन्सियोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।
बाँकी पाँच गोल भने रियलले दोस्रो हाफमा गरेको हो । मध्यान्तरपछि मार्को असेन्सियोले थप एक गोल गरे ।
तीन शुन्यले अघि बढेको रियलका लागि अल्भारो मोराटाले दुई, नाचो फर्नान्डेज रमारियानो मेजिया एक एक गोलको योगदान गरे ।
लियोनेसका लागि एक मात्र गोल बेन्जाले गरे । स्टार खेलाडीहरू क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल र करिम बेन्जिमाको अनुपस्थितिमै रियलले फराकिलो जित निकालेको हो ।