काठमाण्डौ ,९ कार्तिक ।
संसदको सबैभन्दा ठूलो दल नेपाली काग्रेसले अख्तियार प्रमुख लोकमान सिंह कार्की्विरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारे मतदान अघि मात्र निर्णय लिने भएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा महाअभियोग सम्बन्धमा समर्थन गर्ने कि नगर्ने भन्नेमा केन्द्रीय सदस्यहरुको फरक फरक धारणा आए पछि काग्रेसले निर्वाचनका क्रममा मात्रै ठोस निर्णय लिने जनाएको हो ।
आजको बैठकमा पार्टी संसदीय दलमा छलफल गरेर मात्रै महाअभियोगबारे निर्णयमा पुग्ने छलफल भएको नेता रामचन्द्र यौडेलले जानकारी दिनुभयो ।
उहाका अनुसार महाअभियोग प्रस्ताव संसदमा पेश भइसकेको र छलफलपछि महाअभियोग सिफारिस समितिले निष्पक्ष छानविन गर्ने भएकाले प्रतिवेदन आएपछि मतदानका क्रममा आफ्नो निर्णय गर्ने बैठकले निश्कर्ष निकालेको छ ।
बैठकले महाभियोग प्रस्ताव कानुनी र संसदमा पेश भएको विषय भएकाले संसदले गठन गरेको महाभियोग सिफारिस समितिमा निष्पक्ष छानविन हुनुपर्ने जनाएको छ ।
समितिले गर्ने निर्णयका आधारमा पार्टीले निर्णय लिने पौडेलले बताउनु भयो ।
कांग्रेस केन्द्रीय समितिमा गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बद्री पाण्डे र सुरेन्द्रराज पाण्डेलगायतका नेताहरु बैठकमा कार्कीलाई महाभियोग लगाउनुपर्ने पक्षमा उभिनुभएके थियो ।
कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले महाअभियोग प्रस्ताव न्यायिक निरूपणको विषय भएको भन्दै महाभियोग सिफारिस समितिको प्रतिवेदन नआएसम्म पक्ष विपक्षमा उभिनु कानुनी राज्यको विरूद्ध हुने बताउनु भएको थियो ।
बैठकले स्थानीय निकायको निर्वाचनकालागि तयारी थाल्ने, स्थानीय निकायको पुर्नसंरचनाका विषयमा सबै दलसँग छलफल गर्ने, संविधान संशोधन र कार्यान्वयनलागि सबै दलसँग छलपफल गर्ने निर्णय गरेको छ।
महाअभियोगमा हस्ताक्षर गरेका सांसदहरु सिफारिस समितिमा रहन नहुने कांग्रेसले तर्क गर्दै आएको छ । महाअभियोगमा हस्ताक्षर गरेकाले सिफारिस समितिमा छानबिन गर्दा अभियोग लगाइएका व्यक्तिलाई अन्याय हुने कांग्रेसको तर्क छ ।
११ सदस्य सिफारिस समितिका सदस्यमध्ये एमाले र माओवादी केन्द्रतर्फबाट सदस्य बनेका केहीले हस्ताक्षर गरेका छन् ।