कार्तिक ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकाका तीनै जिल्लाको विकास एवं प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज सम्बन्धीत मन्त्रालयका सचिव तथा सम्बद्ध अधिकारी सम्मिलित संयुक्त बैठकमा जनसरोकार तथा विकासका सबै काममा समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको हो ।
उहाले भन्नुभयो , खानेपानीले गरेको काम विद्युतलाई थाहा हुँदैन, भौतिक मन्त्रालयले गरेको काम स्थानीय विकासलाई थाहा हुँदैन । यसरी परिणाम निकाल्न सकिँदैन । तसर्थ, एकीकृत र समन्वयात्मक रुपमा काम गरेर परिणाम निकाल्नुस् ।’
बैठकमा प्रधानमन्त्रीले गैरकानुनी राज्यले कानुनी राज्य कमजोर बनाएको भन्दै त्यसलाई चिर्न नयाँ संकल्प जरुरी रहेको पनि बताउनुभयो ।
त्यसका लागि दृढ संकल्पका साथ कानुनी राज्य बलियो बनाउन लागि पर्नुपर्ने भन्दै उहाले सरकार आवश्यक पर्ने कानुनी व्यवस्था गर्न तयार रहेको बताउनु भयो ।
बैठकमा प्रधानमन्त्री दाहालले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डाखुल्डी नराख्न, विद्युत, खानेपानी, सडक लगायतका पूर्वाधार निर्माणमा समन्वय गरेर काम गर्न पनि निर्देशन दिनुभएको छ ।
बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा अंगका अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।