काठमाडौ ८ कार्तिक ।
अखिल नेपाल फुटवल संघ एन्फामा रिक्त रहेको अध्यक्ष र उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । एन्फाको साधारण सभाले एकवर्षका लागि अध्यक्ष र उपाध्यक्ष चयन गर्न लागेको हो ।
तत्कालिन अध्यक्ष गणेश थापालाई फिफाले भ्रष्टाचारी ठहर गर्दै निलम्बन गरेको र उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएका कारण यी दुई पदमा एकवर्षे कार्यकालका लागि निर्वाचन हुन लागेको हो ।
अध्यक्षका लागि एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा्छिरिङ्ग शेर्पा प्रतिस्पर्धामा हुनुहुन्छ । उपाध्यक्षमा श्रेष्ठ पक्षबाट मणी कुँवर र शेर्पा पक्षबाट दीपक खातीले उम्मेदवारी दिनुभएको छ ।
यस्तै राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका उपेन्द्रमान सिंहले पनि स्वतन्त्र रुपमा उपाध्यक्षमा उम्मेदवार दिनुभएको छ । निर्वाचनमा ६७ जना मतदाता सहभागी हुनेछन् ।
४५ जिल्लामध्ये झापाबाहेकका ४४ जिल्ला फुटबल संघ, १२ वटा ए डिभिजन क्लबबाट एकएक जना, बी डिभिजनका क्लवबाट ४ जना, सी डिभिजनबाट तीनजना, महिला फुटबल संघ, रेफ्रि संघ, प्रशिक्षक संघ र खेलाडी संघबाट एक एक जना गरी ६७ जना प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।
बी डिभिजनको कुमारी क्लब कारबाहीमा परेकाले मतदान गर्न पाउँदैन भने प्रतिनिधि ढिलो पठाएकाले झापाले पनि मतदान गर्न नपाउने भएको छ ।
श्रेष्ठ पक्षलाई एन्फाका पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ भने शेर्पा राजनीतिक रुपमा नेपाली कांग्रेस निकटछन् । उपाध्यक्षमा श्रेष्ठ पक्षबाट उम्मेदवारी दिएका मणी कुँवर साइनोले गणेश थापाका सालो हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएका उपेन्द्रमान सिंहलाई खेलाडी, प्रशिक्षक, रेफ्रि लगायतले आफ्नो साझा उम्मेदवार बनाएका छन् ।