काठमाडौं, ७ कार्तिक । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सांसदलाई महाअभियोग अघि बढाउन निर्देशन दिनुभएको नेता अग्नि सापकोटाले बैठकपछि जानकारी दिनुभयो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको हिजोको बैठकले महाअभियोगसम्बन्धी निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिएको थियो । सोही अनुरुप आफूले सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न पार्टीका नेतासँग छलफल अघि बढाएको अध्यक्ष दाहालले जानकारी दिनुभएको सापकोटाले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष दाहालले वैधानिक रुपमा दर्ता भएको महाअभियोगका पक्षमा एक भएर अघि बढ्न बैठकमा सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।